
एउटा सामाजिक प्रश्न
-खेमराज आचार्य-

यो समाज
कसैलाई जन्मजात
अछुत बनाइ दिन्छ
कसैलाई मौका बेलामा
अछुत बनाई दिन्छ ।
मौका बेलामा जब छुत भनिनेहरु
घाटबाट फर्किदा
एकाएक अछुत बन्न पुग्छन
अनि यो समाज
फर्मान गर्दै आदेश दिन्छ
सुन पानी र गहुँत छर्किन
र ! अछुतबाट छुत बनाउँछ ।
यसरी नै हिजो मात्र
सुन पानी र गहुँत छर्केर
अछुतबाट छुत भएको ‘म’
चोख्याएर भित्र्याइयो
मलाई जस्तै गरि
किन छर्किन सक्दैन यो समाजले
सुन पानी र गहुँत ।
र चोख्याएर भित्र्याउन किन सक्दैन?
जन्मजात दलित र अछुत भनिने
म जस्तै मान्छेहरूलाई ।
*
२०७६/०३/२६
चितवन
