
विषादी परिक्षणबारे भारतीय प्रश्नको जवाफ परराष्ट्रले दिनुपर्छ : कृषि मन्त्री
काठमाडौं, २६ असार ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादि परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताउनु भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी भने गराएको पनि स्पष्ट पार्नु भयो । मन्त्री खनालले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परिक्षणको काम सो निर्णयपछि पनि नरोकिएको पनि स्पष्ट पार्नु भयो ।
भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरिरहेका बेला मन्त्री खनालले त्यसबारे उठेका सबै प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने प्रतिक्रिया दिनुभएको हो ।
मन्त्री खनालले तत्कालका लागि मलको अभाव नभएको पनि बताउनु भयो । उहाँले मनसुन शुरु भएकाले धान रोपाईँमा अव समस्या नहुने पनि बताउनुभयो । यस वर्ष मनसुन ढिलाई भएकाले गत वर्षको तुलनामा धान रोपाईँ हुन नसकेको मन्त्री खनालको भनाई थियो ।
