मोहनविक्रम, किरण, बाबुराम, रोहित, विप्लवसहित सबैलाई एकतामा आउन नेकपाको आव्हान

सन्ताेष पाैडेल / काठमाडौं, २० असार ।
नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के पी शर्मा ओलीले पुराना सबै कम्युनिष्ट घटकका नेताहरुलाई नेकपामा एकतावद्ध हुन अपील गरेका छन् ।

पुर्व माओवादी नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र नयाँ शक्तिमा आवद्ध रहेका नेताहरु देवेन्द्र पराजुली, पुर्व मन्त्री समेत रहेकी कल्पना धमला, महिला अध्यक्ष मनु हुमागाईं लगायतका ५ दर्जन नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्षद्वय ओली र प्रचण्डले पुर्व माओवादी नेताहरु सहित नेपाल मजदूर किसान पार्टीका नेता र नेकपा मसालका मोहनविक्रमसमेतलाई नेकपामा एकताबद्ध हुन आव्हान गरेका हुन् ।

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुका गुरुका रुपमा चर्चामा रहेका मोहन विक्रम सिंह, आफ्ना गुरुका रुपमा चर्चा गरिएका मोहन वैद्यलाई के दिनुपर्छ आफूहरु दिन तयार रहेको तर जसरी पनि ल्याउन पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

उहाँले बाबुराम भट्टराईको विद्धता कम्युनिष्ट वामपन्थी भन्दा बाहीर गएर काम नलाग्ने बताउँदै उहाँलाई पनि एकतावद्ध हुन अपील गर्नुभयो । त्यसैगरी आफू जस्तै हुन्छु भनेर क्रान्ति गर्न खोजेका नेत्र विक्रम चन्द विप्लवलाई असम्भव बाटोमा नलाग्न् तथा राजनीतिको मूल धारमा आउन अपील गर्नुभयो ।


अध्यक्षद्वयले भर्खरै प्रवेश गरेका नेता कार्यकर्ताहरु धेरै परबाट वा अन्यत्र बाट आएको जस्तो नलागेको र आफ्नै छोराछारीहरु केही दिन बाहिर घुम्न गएर फर्केको जस्तो लागेको भन्दै उनीहरुले पनि त्यसलाई कुनै अर्को पार्टीमा गएको ठान्न नहुने बताउनुभयो ।


कार्यक्रममा नव प्रवेशीका तर्फबाट धारणा राख्नुभएका देवेन्द्र पराजुलीले नयाँ शक्ति निर्माण गर्ने र समाजवादको बहस गर्ने सबैभन्दा राम्रो प्लेट फर्म नेकपा नै भएको भन्दै बाबुरामले कुनै नयाँ काम गर्न नसकेको बताउनुभयो । उहाँले आफूले क्रान्तिको लागि सकेजति गरेको र अब बाँकी दिनमा पनि पार्टीले दिएको जिम्मा पुरा गर्न तयार रहेको बताउनुभयो ।