
मुम्बइमा वर्षाले बेहाल, पर्खाल भत्कीँदा १८ को मृत्यु, ५५ जहाजहरूलाई अन्तै पठाइयो
नयाँ दिल्ली, १७ असार ।
भारतको मुम्बई आएको भिषण वर्षाका कारण जनजीवन पुरै प्रभावित बनेको छ भने विमानस्थल समेत प्रभावित भएको छ । पर्खाल भत्किँदा १८ जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन्।

मंगलबार बिहान २ बजेदेखि आएको अविरल वर्षाका कारण पर्खाल भत्किएको एजेन्सीले जनाएको छ ।
ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।
‘पर्खाल भत्किनुमा स्थानीय सरकारको केही दोष छैन। मुम्बईमा अवैध रूपमा विकासका कामहरू थुप्रै भइरहेका छन् तर यो त्यसमा पर्दैन’, शिव सेनाका नेता सञ्जय राउतले भने।
बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ।
मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ।
शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको छ।
