जनताका लागि अस्पताल बनाउन नसक्ने, भारतीय फिल्म अवार्डलाई १ अर्ब दिने ?

काठमाडौं, १५ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अव रकम दिन नहुने बताउनुभएको छ । भारतीय फिल्म अवार्डलाई त्यति ठूलो परिमाणमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय सरकारले गरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो ।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क पनि गर्नुभयो ।
आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताउनु भयो ।


सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्वीकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाउनु भयो ।
उहाँले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्व बजेट दिन जायज नहुने तर्क गर्नुभयो ।