काठमाडौंमा सिरिञ्ज आतंक मच्चाउने १ युवा पक्राउ, ‘रहेछ ढलान काँटी’

काठमाडौं, १३ असार ।
प्रहरीले काठमाडौंको विभिन्न स्थानमा महिलामाथि सिरिञ्ज आक्रमण गरी ‘सुई आतंक’ मच्चाउने एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले काठमाडौंको स्वयम्भु र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडने रामेछापका युवा सन्तोष कार्कीलाई बिहीबार राति १० बजेतिर पक्राउ गरेको हो । प्रहरीले महाराजगंजबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पीडित युवतीहरुले दिएको उजुरीको आधारमा निज कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । काठमाडौंको महाराजगंजमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट संचालन गर्दै आएका कार्कीले बेलुका नौ बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भु र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ । नैकाप बस्दै आएका निज कार्कीले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

केही दिन अघि देखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा समेत यो घटनाले सनसनी मच्चाएपछि प्रहरीले पीडित युवतीहरुको उजुरीको आधारमा खोजतलासको कामलाई तीव्रता दिएको थियो । सो घटनामा हालसम्म कार्कीको मात्रै संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।