एसईईको नतिजा सार्वजनीक, ५० जनाको रद्ध, यसरी हेर्नुहोस नतिजा

काठमाडौं, १२ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार एसईईको नतिजा प्रकाशन गरेको हो ।

बुधबार नतिजा प्रकाशन गर्ने भनिएपनि केही विद्याथीृको नतिजा प्रकाशनमा समस्या भएपछि आज नतिजा सार्वजनीक गरिएको परिक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म (A+) ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म (A) ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म (B+) ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म (B) ल्याउने ९८ हजार २ सय ७ जना रहेका छन् ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म (C+) ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म (C) ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

प्रदेशकाे नतिजा

१५ दिनभित्र पुनर्योग गर्न सकिने
परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ । तर, विभिन्न तीनवटा कारणले विहीबार नतिजा रोकिने विद्यार्थी चाहिँ अरु पनि छन्, जसका सम्बन्धमा आफूहरु गम्भीर रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

५० काे रद्द, ४८ काे एउटा विषयमात्र

दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ । ४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द भएको छ ।

‘परीक्षा मर्यादित र अनुशासित भए पनि केही केन्द्रमा मर्यादा उल्लंघन भयो । मर्यादा विपरीत कार्य गर्ने एकजना र गलत विवरण भरेर आवेदन गर्ने एकजना गरी दुईजनाको सबै विषय रद्द गरियो’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दुईजनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्द भएको छ ।’

यसरी हेर्नुहोस् नतिजा

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि SEE को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।