गुठी संस्थान खारेज गर्न सांसदले गरे माग, के होला अब ?
काठमाडौं, १२ असार ।
प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।
बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उहाँको तर्क छ ।
अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराउनु भयो ।
सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।