एसईईको रिजल्ट आज आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं, १२ असार ।
उच्च् शिक्षाको लागि फलामे ढोका मानिँदै आइएको एसईईको नतीजा आज आउने भएको छ । यस अघि हिजाे बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको थियाे ।

 नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ ।

नेपाल टेलिकमले २०७५ सालको एसईई परीक्षाको नतिजा हेर्न सकिने सुविधा दिने भएको छ। टेलिकमका विभिन्न सेवाबाट नतिजा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (Symbol Number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै: see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि SEE को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो Symbol Number थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।

बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिनुभयो ।

परीक्ष नियन्त्रण कार्यालयले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।