के भयो नेकपा अध्यक्ष प्रचण्ड ओलीबीचको आजको भेटमा ?

काठमाडौं, ११ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भेटवार्ता भएको छ ।

पार्टी र स्थानिय सत्तासँग सम्वन्धीत विभिन्न कामका सिलसिलामा प्रचण्ड चितवन पुगेपछि दुई अध्यक्षबीच कुराकानी हुन नसकेको सन्दर्भमा राजधानी फर्केपछि भेट भएको हो । बुधवार बिहान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई बालुवाटार बोलाएपछि भेटवार्ता भएको श्रोतले बतायो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली र प्रचण्डबीच झण्डै एक घन्टा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको थियो । दुवै अध्यक्षले आआफ्नो अडान कायमै राखेपछि छलफल कुनै निष्कर्षमा नपुगेको स्रोतको दावी छ ।

पार्टी एकताका बेला भएको राजनीतिक कार्यदिशा सम्बन्धी सहमति परिमार्जनका लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेपछि दुई अध्यक्षबीचको दुरी बढेको बताइएको थियो ।

प्रचण्डले सहमतिबाट कोही पनि दायाँ बायाँ गर्न नहुने भनाई राख्दै आउनुभएको छ भने प्रधानमन्त्री ओलीले भने पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने प्रस्ताव गरेको कारण विवाद उव्जीएको छ ।

पार्टी एकताकोे बेला दुई पार्टीबीच पार्टीको आगामी कार्यदिशा जनताको जनवाद हुने सहमति भएको थियो । जुन जनताको बहुदलीय जनवाद र २१ औं शताव्दीको जनवादको फ्युजन हुने भन्दै दुबैले स्वीकारेका थिए । अहिले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने चरणमा आउँदा यस विषयमा किचलो उत्पन्न भएपछि समस्या परेको छ ।