मन्त्री फेर्नेबारे प्रधानमन्त्री ओलीका विकल्प के के छन् ?

काठमाडाैं, ११ असार–

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो ।

केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन् । तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन् । उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेतासँग आन्तरिक परामर्शमा छन् । ‘प्रधानमन्त्री टुंगोमा पुगिसक्नुभएको त छैन,’ ती सदस्यले भने, ‘तर प्रधानमन्त्रीले तीन विकल्पमा छलफल थाल्नुभएको छ ।’

प्रधानमन्त्रीले मन्त्रिमण्डलमा रहेर प्रभावकारी काम देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरी तिनका ठाउँमा नयाँ नियुक्त गर्ने विकल्पमा छलफल चलाएका छन् । यस्तै सबै मन्त्रीलाई एकमुष्ट बिदाइ गरेर पूरै नयाँ टिम लिई अगाडि बढ्ने उनको दोस्रो विकल्प छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा मात्र नियुक्ति गरी अरू अहिलेकै मन्त्रीबाटै चलाउने विकल्पमा पनि उनले निकटस्थहरूसँग परामर्श गरिरहेका छन् । –अन्नपूर्ण पोस्टबाट