
के हाे क्लिन फिड ? कति नाफा हुन्छ नेपाललाई ?
काठमाडौ, ११ असार –
सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला ‘क्लिन फिड’ चर्चामा छ ।

टेलिभिजन च्यानल प्रसारण बन्द गरेका नेपाल केबल टेलिभिजन महासङ्घ र इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले प्रस्तावित विज्ञापन ऐन, २०७६ अनुसार क्लिन फिड लागू भए टेलिभिजन प्रसारण गर्न समस्या हुने दाबीसाथ साङ्केतिक रूपमा प्रसारण बन्द गरिएको जनाउँदै आएका छन् । तर, क्लिन फिड पूर्ण रूपमा लागू भए त्यसले नेपालको विज्ञापन बजारको आकार अर्बौं रुपियाँले बढाउने र सरकारको राजस्व वृद्धि गर्न सहयोग पुग्ने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ (१) अनुसार ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरू नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ उल्लेख छ । त्यस्तै सोही दफाको उफदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने उल्लेख गरिएको छ ।
प्रस्तावित यो व्यवस्था कार्यान्वयनमा आए अहिलेको विज्ञापन बजार दोब्बर हुनसक्ने नेपाल विज्ञापन सङ्घका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठ बताउनुहुन्छ । “अहिलेकै परिस्थितिमा क्लिन फिड लागू भए कम्तीमा दुई अर्ब रुपियाँभन्दा बढीले तत्काल बजार विस्तार हुने छ”, नेपाल विज्ञापन सङ्घका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले भन्नुभयो, “त्यसले मात्र होइन, बजार दोब्बरसम्म बढ्ने सम्भावना छ । ”
सङ्घका अनुसार अहिले नेपालको विज्ञापन बजार करिब आठ अर्ब रुपियाँको आसपासमा छ । क्लिन फिड कार्यान्वयनमा आएपछि स्वदेशमै कलाकारदेखि प्राविधिकसम्मको रोजगारी बढ्ने मात्र नभई सरकारी राजस्वमा पनि त्यसैअनुसार वृद्धि हुने भनाइ श्रेष्ठको छ । विदेशी विज्ञापन बन्द भएपछि बहुराष्ट्रिय कम्पनीले पनि नेपालमै विज्ञापन बनाउनुपर्ने भएकाले यसको आन्तरिक स्रोत प्रयोग हुने उहाँको दाबी छ । यसबाहेक नेपाली भाषामा डबिङ गरेर विज्ञापन प्रसारण भइरहेकोमा त्यो पनि हट्ने हुँदा बजारको अवसर थप बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपाली भाषामा डबिङ गरेर प्रसारण गरिएका विज्ञापनको बजार अहिले करिब एक अर्ब रुपियाँको हाराहारीमा छ ।
टेलिभिजन वितरकहरू भने नेपालमा प्रसारण हुने च्यानलमध्ये ९५ प्रतिशत च्यानल विदेशी रहेकाले क्लिन फिड लागू गर्न समस्या हुने र नेपाली च्यानलकै भरमा विज्ञापनको बजार विस्तार हुने आधार नभएको बताउँछन् । विदेशी च्यानलमध्ये पनि अधिकांश भारतीय च्यानल रहेको र भारतीय प्रसारकहरूले क्लिन फिड लागू भए च्यानल प्रसारण गर्न नसकिने भनिसकेको अवस्थामा यो लागू गर्न समस्या हुन सक्ने नेपाल केबल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले बताउनुभयो । “हामी क्लिन फिडको विरोधी हुँदै होइनौँ”, उहाँले भन्नुभयो, “तर, यो लागू हुँदा कस्तो हुन्छ भनेर साङ्केतिक रूपमा हाम्रा ग्राहकलाई देखाएका मात्र हौँ । ” क्लिन फिड लागू भएर विदेशी च्यानल प्रसारण हुन नसकेमा उपभोक्तालाई थोरै च्यानलका लागि धेरै पैसा खर्च नगर्ने र वितरकहरूले कम पैसा उठाएर प्रसारण सुविधा दिन सक्ने अवस्था कमजोर हुने उहाँको भनाइ छ ।
के हो क्लिन फिड ?
विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै क्लिन फिड हो । यो अवधारणाअन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन । विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नु परेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो ।
अहिले नेपालमा करिब १५० वटा विदेशी च्यानल प्रसारण भइरहेका छन् । तीमध्ये भारतीय च्यानलको हिस्सा करिब ९५ प्रतिशत छ । भारतीय च्यानलबाहेक अन्य देशका कतिपय च्यानल अहिले विज्ञापनरहित छन् । भारतीय च्यानलमध्ये करिब आधा च्यानल ‘पेड’ छन्, जुन प्रसारणका लागि नेपाली टेलिभिजन वितरकले पैसा तिर्दै आएका छन् । त्यस्ता पेड च्यानलमा विज्ञापन राख्न नपाइने व्यवस्था प्रस्तावित ऐनले गरेको हो । त्यसबाहेक कतिपय ‘फ्री टु एयर’ च्यानलहरू पनि नेपालमा प्रसारण भइरहेका छन्, जसको प्रसारण गरेबापत वितरकहरूले पैसा भने तिर्नुपर्ने छैन । सरकारले पहिलोपटक २०७३ साउनमा आमसञ्चार नीतिमार्फत क्लिन फिडको व्यवस्था गरेको थियो । उक्त नीतिअनुसार नै २०७४ साउन १ देखि यो लागू हुने भनिए पनि टेलिभिजन वितरककै विरोधका कारण त्यति बेला स्थगित भएको थियो ।
