विकासको काममा कुनैपनि अवरोध स्वीकार्य छैन : खानेपानी मन्त्री मगर

कञ्चनपुर, १० असार ।

खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताउनुभएको छ । 

कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताउनुभएको हो । उहाँले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उहाँले भन्नुभयो, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा  विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’

विकासको कार्यमा अवरोध पु-याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उहाँको भनाइ छ । 
उहाँले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’

नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६/७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।