
कांग्रेसमा किचलो : सिटौला पक्षले माग्याे तत्काल महाधिवेशन
काठमाडौं, १० असार –
तेह्रौं महाधिवेशनपछि कांग्रेसभित्र वैचारिक समूहका रूपमा स्थापित नेता कृष्णप्रसाद सिटौला समूहले तत्काल पार्टीको १४औं महाधिवेशन माग गरेको छ ।

राजधानीमा सोमबार जीपी कोइराला अध्ययन केन्द्रले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तीका अवसरमा गरेको कार्यक्रममा सिटौला समूहका नेताहरूले तत्काल पार्टीको १४औं महाधिवेशनको माग गरेका हुन् ।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले पार्टीको संगठन नै नभएका कारण पार्टीको साख गिर्दो अवस्थामा पुगेको बताउँदै तत्काल महाधिवेशन नभए पार्टीका लागि मात्रै होइन देशका लागि समेत खतरा रहेको बताए ।
उनले भने, ‘भर्खरै पार्टीको जागरण अभियान त भयो, बिनासंगठनको यात्रामा जागरण गरेर आइयो, अब पनि पार्टीको संगठन बनेन भने कांग्रेसका लागि मात्रै होइन, देशका लागि पनि घाटा छ ।’
नेता सिटौलाले सरकार गलत बाटोमा र कांग्रेस थाकेको बाटोमा हिँड्दा देशको राजनीति पुनः दुर्घटनातर्फ उन्मुख भइरहेको जनाए ।
‘सरकार गलत बाटोमा हिँड्छ, प्रतिपक्ष गलत भयो भनेर दह्रो बोल्न सक्दैन, कांग्रेस पनि थाकेको जस्तो भइरहेको छ, सरकार गलत ट्र्याकमा हिँड्दा र कांग्रेस थाक्दा देशको राजनीति दुर्घटनातर्फ उन्मुख भइरहेको छ,’ सिटौलाले थपे ।
उनले स्वर्गीय गिरिजाप्रसादको दूरदृष्टिकै कारण नेपालको शान्ति प्रक्रिया अघि बढेको र नेपालमा गणतन्त्रको झन्डा फहराएको समेत बताए ।
नेता सिटौलाले महासमितिको म्यान्डेडलाई पार्टी नेतृत्वले लत्याएको भनेर देशभरका नेता कार्यकर्ताले प्रश्न गरेको भन्दै भने, ‘आफ्नै साथीहरूले नेता पत्याउँदैनन् भने किन नेता भएर बस्नुपर्ने ?’ उनले युवापुस्तालाई नेतृत्वको रेसमा आउनसमेत आग्रह गरे ।
युवा नेता गगन थापाले महाधिवेशनले कमजोर कांग्रेसलाई तगडा बनाउने बताए । उनले महाधिवेशनमा विलम्ब हुँदा घाटा हुने भन्दै महाधिवेशन भए घाटा हुन्छ भन्ने कोही भए खुलेर आउन चेतावनीसमेत दिए ।
‘केन्द्रीय समितिले अब महाधिवेशनको बाटो तय गर्नैपर्छ, अब पनि महाधिवेशन नगर्दा कांग्रेसका लागि झनै घाटा छ, यदि महाधिवेशन गरौं भन्दा होइन घाटा हुन्छ भन्ने कोही हुन्छन् भने आउनुस्, खुलेर डिबेट गरौं,’ थापाले भने ।
उनले पार्टीको इमेजमा गत निर्वाचनबाट नै दाग लागेको भन्दै दागलाई डिम्पल देख्ने हो भने झनै परिस्थिति असहज हुने बताए ।
‘पार्टीको इमेजमा दाग लागेको छ, दागलाई डिम्पल सम्झेर बस्ने हो भने गल्तीबाट छुट्कारा पाइँदैन, कहाँकहाँ गल्ती भयो स्वीकारेर अघि बढौं,’ थापाले थपे । नेता प्रदीप पौडेलले संघीयताको पाठ सबैलाई सिकाएर संघीय ट्र्याकमा मुलुकलाई अघि बढाउने कांग्रेस आफैं संघीय संरचनामा जान नसक्नु दुःखद भएको बताए ।
उनले अस्थायी व्यवस्थाबाटै भए पनि सबै संरचना बनाएर महाधिवेशनमा जान सकिने बताए ।
‘कांग्रेसले मुलुकमा संघीयताको सुरुवात ग¥यो, कांग्रेसले नै सबैलाई संघीय अभ्यासमा डे¥यायो तर कांग्रेसको आफ्नै संरचना संघीय स्वरूपमा छैन, अब अन्तरिम व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिन्छ, जाऔं,’ पौडेलले भने ।
उनले वर्तमान केपी ओली सरकार नालायक बन्दा देशमा आएका व्यवस्थाहरूमाथि नै संकट देखा पर्न थालेको समेत बताए ।
कार्यक्रममा सिटौला समूहका अन्य नेताहरू उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, देशवराज चालिसेलगायतले समेत तत्कालै पार्टी महाधिवेशन उन्मुख हुनुपर्नेमा जोड दिए ।
