विप्लव नेकपा जिल्ला ईन्चार्ज पाैडेलकाे गाेली हानी हत्या, अाज शैक्षिक हड्ताल

काठमाडौं, ६ असार –

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको जनाएको छ ।

आज सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथी पर्खिरहेका पौडलमाथि प्रहरीले हात र टाउको गोली हानी कायरतापूर्वक हत्या गरको बताएका हुन् । उनले यो गैरन्यायिक हत्या भएको दाबी गर्दै भत्र्सना समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ नेपाल कम्युनिष्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतंक र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यामबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ उनले पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठुलो क्षति पुगेको समेत बताएका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले बिहीबार  आम शैक्षिक हड्ताल आव्हान गरेको छ ।

संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो ।

वर्तमान केपी ओली नेतृत्वको सरकारले संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाएपछि विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा भोली एक दिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले बन्द आह्वान गरिएका जिल्लामा रहेका सबै शैक्षिक संस्थाहरुलाई एक दिन बन्द गरेर सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न सरकारले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको भन्दै अध्यक्ष ढकालले जस्तोसुकै दमन गरेपनि नझुक्ने दृढता व्यक्त गर्नुभयो ।

देशैभरिबाट अखिल (क्रान्तिकारी)मा आवद्ध दर्जनौं नेता कार्यकर्तालाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएको भन्दै उहाँले भत्र्सना र निन्दा समेत गर्नुभएको छ ।

घोषित कार्यक्रम अन्तरगत अखिल (क्रान्तिकारी) संगठनले आज (बिहीबार) देशव्यापी मसाल जुलुस निकाल्दै छ । यसअघि हिजो देशव्यापी क्याम्पस अगाडि १ घण्टा चक्काजाम गरेको थियो । यसैक्रममा अखिल (क्रान्तिकारी ) क्याम्पस जिल्लाले काठमाडौको त्रिचन्द्र क्याम्पस, एनसिसि, पसुपती , आर आर र तहाचल लगाएत क्याम्पसमा बिरोध स्वरुप व्यानर टागेर बिरोध जनाएका छन् ।