कर्णालीमा वेपत्ता भएका अझै भेटिएनन्, खोजी कार्य जारी

हुम्ला, ५ असार ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जीपको खोजी कार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ ।

पानीको बहाव बढी भएका कारण पत्ता लगाउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयाे ।

मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जीप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो ।

स्थानीयवासीले जीप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा परेका उपाध्यक्ष शाहीको झोलामा रु ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।

जीप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

कुनिटारबाट दुर्घटनास्थलमा पुगेका सशस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले भेट्टाउन मुस्किल रहेको छ ।

मंगलबार दुर्घटना भएको जीपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

यही असार ३ गते मंगलबार जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता भएका थिए ।

कर्णाली नदीमा खसेको जीपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करीब एक हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन नसकिएको समाचार राससमा छ ।