
नेकपा अध्यक्षद्य प्रचण्ड र ओलीबीच भेट, सचिवालय बैठक शुक्रबार डाक्ने सहमति
काठमाडौं, ४ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री के पी शर्मा ओलीबीच सचिवालय बैठक शुक्रबार बोलाउने सहमति भएको छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा ओली र प्रचण्डबीच करिब २ घण्टा छलफल भएको थियो ।
छलफलबाट नेकपाको सचिवालय बैठक शुक्रबार डाक्ने सहमति बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण लगायतका व्यस्तताका कारण पटक–पटक स्थगित हुंदै आएको सचिवालय बैठक शुक्रबार बस्ने टुंगो लागेको हो ।
छलफलमा राजनीतिक प्रतिवेदन पनि टुंगो लगाउने कुरा तय गरेको प्रचण्ण्डका प्रेस संयोजक विष्णु् सापकोटाले बताए ।
एकता भएको १ वर्ष १ महिना बितिसक्दा पनि पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन पारित भएर अझै छापिएको छैन । विधान र प्रतिवेदन बनाउन गठित एकता कार्यदलले काम गरेर सर्वसम्मत ढंगले प्रतिवेदन बुझाएपनि जनताको बहुदलीय जनवाद, जनयुद्ध जस्ता विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा प्रतिवेदनमा स्पष्ट पारिने बताइएको छ ।
सचिवालयले प्रतिवेदन पारित गरेर त्यसपछि पार्टीले आधिकारीक रुपमा छाप्ने र पार्टी संचालनको तत्कालिन कार्यदिशा तय हुने नेकपाका नेताहरुले बताएका छन् ।
दुई अध्यक्षको छलफलमा गुठी विधेयक, मिडिया विधेयक, लोकसेवा आयोगको विज्ञापन लगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्री श्रोतले बतायो ।
नेकपाको संगठनात्मक एकताको काम समेत टुंगो लागेको छैन । जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरुका साथै केन्द्रीय विभागहरुको गठन पनि बाँकी नै छ । यी विषयहरुमा पनि आगामी सचिवालय बैठकमा छलफल गरेर टुंगो लगाउन दुई अध्यक्ष तयार भएका छन् ।
प्रधानमन्त्री यूरोपबाट फर्किएपछि पहिलो पटक सचिवालयको बैठक बस्न लागेकाले सरकारको समिक्षा र मन्त्री फेरबदलको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ ।
