हुम्ला : कर्णालीमा खस्यो जीप, गाउँपालिका उपाध्यक्षसहित १५ बेपत्ता

काठमाडौं, ३ असार ।
९ जनाको ज्यान जानेगरी बझाङमा भएको जीप दुर्घटनाको खबर सेलाउन नपाउँदै आज फेरी हुम्लाको कर्णाली नदीमा भएको जीप दुर्घटनामा १५ जना बेपत्ता भएका छन् ।

खार्पुनाथ गाउँपालिका–५ बालुकुना स्थित कर्णाली नदीमा यात्रु बोकेको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा उक्त गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दा बढी सवार थिए ।

खार्पुनाथ गाउँपालिका ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट मंगलबार अपरान्ह १ बजे जीप कर्णाली नदीमा खसेको हो ।

जीपमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको साहयक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ।

तर जीप नदिमा खसेको केही समयपछि कर्णाली नदीले पुरै छोपेकोले कुन ठाउँमा छ भन्ने थाहा नभएको घटनास्थलमा पुगेका पत्रकार राजन रावतले बताए।

सिमकोट विमानस्थलबाट फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।