देउवालाई बाेल्न नदिँदा कांग्रेसले गर्यो सदन अवरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन

काठमाडौं, ३ असार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले सदनमा बोल्न पाउनुभएन ।

पहिलो दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए ।ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरेपछि सदन अवरुद्ध भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठक प्रभावित स्थगित भएको छ ।

कांग्रेस सांसदहरुको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि हुन सकेन । सभामुख कृष्ण बहादुर महराले मंगलबारको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरु उभिएका थिए ।

त्यत्तिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका हुन् । सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन ।

ध्यानाकर्षण गराउदा गराउदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदिय गरिमा कायम गर्न माग गर्दे नाराबाजी गरिरहे । केही समयको नाराबाजी पछि सभामुखले बैठक बुधबार सम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।