असल अभिभावक गुमायौं– सभामुख महरा (शोक वक्तव्यसहित)
काठमाडौं, ३ असार
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले दाङका समाजसेवी तथा राजनीतिक व्यक्तित्व हरप्रिसादको निधनले आफूहरुले एक असल अभिभावक गुमाएको बताउनुभएको छ ।
सभामुखको सचिवालयमा कार्यरत आफ्ना स्वकीय सचिव प्रमोद शर्मा, सहिद प्रदीप शर्मा ‘सञ्जय’ एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सदस्य प्रवीण शर्मा र प्रकाश शर्माका बुवासमेत रहेका हरप्रिसाद अधिकारीको निधनमा एक शोक वक्तव्य जारी गर्दे सभामुख महराले उहाँको निधनले आफू स्तव्ध भएको बताउनुभएको छ ।
गुठी संस्थानका पूर्वप्रशासक, अधिवक्ता एवं समाजसेवी घोराही दाङ निवासी हरिप्रसाद शर्माको ७३ वर्षको उमेरमा उपचारकै क्रममा काठमाडौंस्थित वीर अस्पतालमा सोमबार बिहान ९ः५७ बजे निधन भएको थियो । शर्माको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
मृगौला रोगबाट पीडित शर्माले केही वर्षदेखि दुवै मृगौलाको डायलोसिस गर्दै आउनुभएको थियो ।
शर्माको पार्थिव शरीरमा नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाई सम्मान र श्रद्धान्जली अर्पण गर्नुभएको थियो । अन्त्यष्टि कार्यक्रममा पार्टीका नेता कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
महराले बक्तव्यमा शर्माको दुखद निधनले आफूलाई अत्यन्तै स्तब्ध बनाएको र यस घडिमा हरिप्रसादजी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनले शोकाकूल जीवनसंगिनी राधा शर्मालगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु भन्नुभएको छ ।
बक्तव्यमा शर्माको परिवार पुरै जनयुद्धमा सममाहित भएको स्पष्ट पार्दै भनिएको छ ‘हरिजीको पूरै परिवार नै दश वर्षे जनयुद्ध र कम्युनिष्ट आन्दोलनमा समर्पित आदर्श परिवार हो । जनयुद्धका क्रममा पार्टीको जिम्मेवारी कार्यान्वयनकै क्रममा उहाँको जेठो छोरा प्रदीप शर्मा ‘सञ्जय’ले शहादत प्राप्त गर्नुभएको थियो भने पूरै परिवार पूर्णकालीन भएर आन्दोलनमा महत्वपूर्ण योगदान गरेको थियो । उहाँले आफ्नो जीवनकालमा लामो समय शिक्षण गर्नुभयो । अधिवक्ताको रुपमा रहेर वकालत गर्नुभयो । गुठी संस्थानको प्रशासकका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।’
सामाजिक व्यक्तित्वका रुपमा आफूलाई स्थापित गर्नुभएका उहाँले अभाव, गरिबीसँग संघर्ष गर्दै सिंगो परिवारलाई कुशल अभिभावकत्व प्रदान गर्नुभयो । उहाँ एक कुशल अभिभावक हुनुहुन्थ्यो भन्ने उहाँका छोराले देश र जनताका लागि दिएको प्राणोत्सर्गका साथै उहाँको परिवारले अंगालेको सादा जीवन र इमान्दारिताले पुष्टि गर्दछ । उहाँ सहिदको बुवाको रुपमा चिनिन पाउँदा गर्व गर्नुहुन्थ्यो र देशको लागि सिंगो परिवारलाई नै आन्दोलनमा सहभागी गराउनुभएको थियो ।
उहाँको निधनसँगै परिवारले असल अभिभावक गुमाउनुपरेको छ भने हामीले एक इमान्दार र असल सामाजिक व्यक्तित्वलाई गुमाएका छौं । उहाँको निष्ठावान् व्यक्तित्व, इमान्दारिता र संघर्षशील जीवनलाई हामी सबैले अनुशरण गर्न सकेमा मात्रै उहाँप्रतिको साँचो श्रद्धाञ्जली र योगदानहरुको उचित सम्मान हुनेछ भन्ने मैले विश्वास लिएको छु । फेरि पनि हरिप्रसादजीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडालाई सहन गर्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु महराको शोक बक्तव्यमा उल्लेख गरिएको छ ।