समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? – लक्ष्मणलाल कर्ण

काठमाडौं, २ असार ।

राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको हो ।

संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उहाँले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गर्नुभयो । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उहाँले आक्रोश पोख्नुभयो । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उहाँले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री । लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ ।

अब कसको कुरा मान्ने त? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ?

विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाई गर्या हो आन्दोलन गर्या हो । ”