गुठी विधेयकका सम्बन्धमा संसदीय समितिले विज्ञहरुसँग छलफल गर्ने
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ । समितिको आगामी साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग सो विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ ।
समितिले भूमिसम्बन्धि आठौं संशोधन विधेयक आगामी आईतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका तय गरेको छ । त्यसैगरी असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताउनु भयो । समितिले मंगलबार असार ३ गते विहान साँढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपरान्ह ३ बजे वातावरण संरक्षण सम्बन्धि विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमि सम्बन्धि आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ ।
समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताउनु भयो ।