
८५ वर्षिय माेहनविक्रम फेरि महामन्त्री, ४५ वर्षदेखि उनकै नेतृत्वमा मसाल
काठमाडौं, २५ जेठ –
झन्डै ४५ वर्षदेखि महामन्त्रीका रुपमा नेकपा मसालको नेतृत्व गर्दै आएका मोहनविक्रम सिंहले आगामी ५ वर्षका पुन: पार्टीमा महामन्त्रीको जिम्मेवारी पाएका छन्।

बाह्र बर्षपछि काठमाडौँको पश्चिमी क्षेत्र थानकोटमा भएको सो पार्टीको आठौँ महाधिवेशनले सिँहलाई पाँच वर्षका लागि पुन महामन्त्री चयन गरेको हो।
प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने पार्टी विधानमा उल्लेख भएपनि राजनीतिक संक्रमणका कारण २०६३ यता सो पार्टीको महाधिवेशन हुन सकेको थिएन।
लामो समय मसालको नेतृत्वमा रहेका सिँह भदौ २०३१ मा पहिलो पटक तत्कालिन नेकपा चौँथो (महाधिवेशन) को महामन्त्री चयन भएका थिए।
चौँथो महाधिवेशनमा विभाजन आएपछि सिँहले केही समय मोहन बैद्य (किरण), पुष्पकमल दाहाल प्रचण्ड) सहितका नेताहरु रहेको तत्कालिन नेकपा (मशाल) को नेतृत्व गरे।
तर, मशालमा पनि विभाजन आएपछि उनी नेकपा (मसाल) को महामन्त्री बने। मशालको महामन्त्रीबाट विस्थापित गरिएपछि २०४२ मा पार्टी विभाजन गरी उनी नेकपा (मसाल) को महामन्त्री बनेका थिए।
तर, दुर्गा पौडेलसँगको विहेका कारण विवादमा परेपछि उनले पार्टी महामन्त्रीबाट राजीनामा दिए । सिँहको स्थानमा रामसिँह श्रीषलाई महामन्त्री बनाइएको थियो।
तर, नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालिन एकता केन्द्रसँग एकता प्रक्रियासँगै उनी पार्टी महामन्त्रीमा पुनस्र्थापित भए र नेकपा (एकता केन्द्र–मसाल) को महामन्त्री बने।
समयक्रममा सिँह–श्रेष्ठबीच मतभिन्नताका कारण पार्टी विभाजन भयो, श्रेष्ठ नेतृत्वको समूह नेकपा (माओवादी) मा एकीकृत भयो। सिँहले पार्टीको नाम नेकपा (मसाल) नै राखेर पार्टीको नेतृत्व गरिरहे।
बाग्लुङ, प्यूठान, अर्घाखाँची लगायतका जिल्लामा प्रभाव रहेको सिँह नेतृत्वको मसाल ४०’ को दशकसम्म सबैभन्दा ठूलो वामपन्थी दलको रुपमा मानिन्थ्यो।
तर, नेकपा (माले) उदय र २०४८ को आमनिर्वाचन बहिस्कार गर्ने निर्णयसँगै दलको प्रभाव विस्तारै घट्न थाल्यो। नेता–कार्यकर्ताहरु अर्काे कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने क्रम तीब्र भयो।
०४९ को स्थानीय निर्वाचन किसान संघको नाममा प्रतिस्पर्धा गर्ने निर्णय गरेर ०४८ को निर्वाचनमा भएको गल्ती सच्याउने प्रयास भएपनि पार्टीको प्रभाव घट्दै गइरहेको छ।
पार्टीको प्रभाव निरन्तर घट्दै गइरहेपनि पार्टीभित्र सिँहको प्रभाव र पकड भने कायमै छ। नेतृत्वमा उनलाई निर्णायक चुनौती दिने नेताहरु देखिएका छैनन्।
पार्टीभित्र एकल प्रभाव कायम रहेका महामन्त्री सिँहले आफूलाई चुनौती दिने नेताहरुलाई विभिन्न बहानामा पाखा लगाउने आरोप लाग्दै आएको छ।
पछिल्लो समय उनलाई चुनौती दिँदै आएका सन्तबहादुर नेपाली, रक्तिम अध्यक्ष जीवन शर्मा लगायतका नेताहरुलाई महामन्त्री सिँहले पाखा लगाएको आरोप छ।
स्रोतका भनाईमा, नेपाली, शर्मा, राजेन्द्र ढुङ्गाना लगायत सिँहसँग असहमति राख्ने नेताहरु पार्टी केन्द्रीय समितिमा राखिएका छैनन्। – नेपालखबरबाट
