
विप्लव पनि नेकपामा आउने प्रचण्डको विश्वास
काठमाडौं, १९ जेठ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आफ्नो पार्टीमा आउने विश्वास व्यक्त गर्नु भएको छ ।

पुर्व प्रधानमन्त्री एवम् अध्यक्ष प्रचण्डले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पार्नु भयो । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच पार्टीमा प्रवेश गराउँदै उहाँले चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दावी पनि गर्नु भयो ।
‘चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै हुन्छ ।,’ अध्यक्ष प्रचण्डको आग्रह छ, ‘हामी सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न म सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गर्दछु ।’
अध्यक्ष प्रचण्डले मुलुकमा समाजवादको आधार तयार पार्ने गरी सरकारले बजेट, नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसैमा समाहित भएर मात्रै पीछडिएका जनतालाई समृद्ध बनाउन सकिने पनि उल्लेख गर्नु भयो ।
उहाँले राईलाई पार्टीमा प्रवेश गराउँदा आफूलाई घर छाडेर हिँडेको छोरो फेरी घर फर्किएको अनुभूति भएको पनि बताउनु भयो । अध्यक्ष दाहालले राईलाई पार्टी भित्र उचित जिम्मेवारी दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको बताउनु भयो । ‘म कुनै डर, धाक, धम्कीबाट सुरक्षित हुनका लागि नेकपामा आएको होईन,’ राईको स्पष्टिकरण थियो, ‘देश र जनताको हितमा केही गर्न सकिन्छ भनेर नेकपामा प्रवेश गरेको हुँ ।’
राईले पार्टीभित्र आफूले देश र जनताको हितका लागि सकेको योगदान दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
