तीन महिनामा विप्लवका ४ सय १२ नेता कार्यकर्ता पक्राउ, ५४ लाई जेल

काठमाडौं, १९ जेठ ।

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा सो पार्टीका ४ सय १२ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले आपराधिक र विध्वंसात्मक शक्तिका रूपमा परिभाषित गर्दै २८ फागुनमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धको निर्णय लिएको थियो । यसबीचको करिब तीन महिनाको अवधिमा प्रहरीले विप्लव निकट ४ सय १२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

पछिल्लो समय राजधानीमा नै बमको आतंक मच्चाउने गरी गतिविधि सञ्चालन गरेपछि विप्लवप्रति सरकार थप कठोर बनेको छ । सरकारले विप्लवका नेता कार्यकर्तालाई हत्या हिंसाका घटनामा लागे छुट नदिने बताउँदै आएको छ भने यस्ता गतिविधिलाई अमानवीयसमेत भनेको छ ।

प्रहरीले पक्राउ गरेका मध्ये ५४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने १ सय १४ जना अनुसन्धानको क्रममा रहेका छन् । यस्तै ३ सय ६९ जना नेता कार्यकर्ताविरुद्ध यसबीचमा प्रहरीमा मुद्दा दर्ता भएको छ । यस्तै २ सय २० जना मुद्दा दर्ता भई छुटेका छन् भने ३० जना सोधपुछपछि नै छुटेका छन् ।


नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले आपराधिक क्रियाकलापमा संलग्न समूहलाई सरकारकै नीतिअनुसार प्रहरीले कडा निगरानीमा राख्दै आएको बताए ।

‘सरकारले जुन नीति अघि सारेको छ, त्यही नीतिअनुसार प्रहरीले आपराधिक र विध्वंसात्मक गतिविधिमा संलग्न उपर कडा निगरानी राख्दै आएको छ, यस्ता गतिविधिमा संलग्नलाई छुट हुन्न,’ प्रहरी प्रवक्ता पोखरेलले राजधानीसँग भने ।
प्रतिबन्धपछि आफैंले बोकेको बम विस्फोटको घटनामा परी विप्लवका चार जना नेता कार्यकर्ताको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यसबाहेक भोजपुरमा अर्का एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
यसबीचमा प्रहरीले साना पाँच र ठूला तीन गरी आठ थान हतियारसमेत सो समूहबाट बरामद गरेको जनाएको छ । जसमा कटुवा पेस्तोलसहित थ्री नट थ्री राइफल छन् ।
प्रहरीले प्रतिबन्धपछि १८ वटा बम विस्फोटका घटना भएको जनाएको छ । यस्तै, ९५ वटा बमलाई निष्क्रिय पारिएको प्रहरीको तथ्यांक छ । यस्तै यसबीचमा १० स्थानमा तोडफोड तथा आगजनीका घटना भएको प्रहरीले बताएको खबर राजधानीमा छ ।