उपत्यकाका ४० पाेखरी लाेप : मन्त्री मगर भन्छिन् – खाेजी र संरक्षण गरिन्छ

काठमाडौं ।

खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताउनुभएको छ । 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड ) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत – नक्साङकन  सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताउनु भएको हो । 


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ । ” 


ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ । 
काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्यांक संकलन गरि पहिलोपटक यस्तो पुस्तक तयार भएको हो । 

काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लगत संकलन गरि पुस्तक तयार गरिएको छ । 


जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको संख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् । 

यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुंगेधाराहरु संकलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुंगेधाराहरुको संख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुंगेधाराको संख्या ४२ वटा रहेका छन् । 


१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुंगेधारा  मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुंगेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।