
कांग्रेसका कुरा : विप्लवसँग वार्ता गर्न सघाउँछु–पौडेल, विप्लवलाई दमन गर्नुपर्छ– कोइराला
काठमाडौं, १४ जेठ ।
प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विप्लव नेकपालाई हेर्ने दृष्टिकोणमा दुई धारणा देखा परेका छन् ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले विप्लव राजनीतिक शक्ति भएकाले वार्तामार्फत समाधान गर्नुपर्ने भन्दै आफू वार्ताको मध्यस्थता गर्न तयार रहेको धारणा सार्वजनीक गरे लगत्तै अर्का नेता शशांक कोइरालाले भने विप्लव आतंककारी भएको र उसले संविधान फेर्ने मनसाय राखेकाले दमन गरेर जानुपर्ने धारणा राखेका छन् ।
महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको राम्रो संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि काँग्रेस नेता, कार्यकर्ता एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताए ।
वर्तमान सरकारले चन्द नेतृत्वको नेकपालाई आतंककारी भने पनि अन्तमा गएर उनीहरु मिल्ने आफूलाई लागेको महामन्त्री कोइरालाको भनाई छ । नेपाल प्रेस युनियनको २८ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई खतरामा पार्ने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदबाट पारित नगर्न पनि सरकारलाई सचेत गराए ।
महामन्त्री कोइरालाले मिडिया काउन्सिलसम्बन्धि विधेयक पारित हुन नदिन सरकारविरुद्ध प्रतिक्रियामा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई पनि आवहान गरेका छन् । सरकारले ल्याएको सो विधेयक संसदबाट पारित भए लोकतन्त्र खतरामा पर्ने महामन्त्री कोइरालाको दावी छ ।
