
विप्लव नेकपासँग वार्ता र नियन्त्रण दुबै – गृहमन्त्री
काठमाडौँ,१३ जेठ ।
गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय देशका विभिन्न स्थानमा भएको विष्फोटमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादका माध्यमबाट समाधान खोज्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै मन्त्री थापाले सरकारले वार्ता र संवादसँगै नियन्त्रणको नीतिलाई समेत सँगसँगै लैजाने रणनीति लिएको जानकारी दिनुभयो ।

सरकारले पटकपटक वार्ताका लागि आह्वान गर्दासमेत वार्ता हुन नसकेपछि पछिल्लो समय नियन्त्रणमुखी नीति अपनाएको मन्त्री थापाको भनाइ थियो । विप्लव नेतृत्वको समूह वार्तामा नआए पतनको बाटोमा जाने उहाँको भनाइ छ ।
मन्त्री थापाले विप्लव समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी मृत्यु हुने चार जना सामान्य नागरिक नभई घटनामा संलग्न नै मारिएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा बाँसका भाटा, विप्लव समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइएको उहाँको भनाइ थियो । सांसद जीतेन्द्रनारायण देवले विप्लव समूहप्रति सरकारको धारणा सार्वजनिक गर्न माग गर्दै शान्ति सुरक्षाकोसमेत माग गर्नुभयो ।
त्यसैगरी सांसद रमेशप्रसाद यादव, प्रकाश पन्थ, तारादेवी भट्ट, अनिता देवकोटा र धनकुमारी खतिवडाले देशका विभिन्न स्थानमा भएको विष्फोटनका कारण जनतामा त्रास फैलिएको भन्दै सरकारसँग शान्ति सुरक्षा कायम गर्न माग गर्नुभयो ।
