यी हुन् जिल्ला हाँक्ने ४ महिला सिडिअाे

काठमाडाैं।

नेपालको पहिलो महिलो प्रमुख जिल्ला अधिकारी उषा नेपाल हुन् । हाल, नेपाल जस्तै जिल्लाको नेतृत्व गर्ने भूमिकामा थुपै्र महिला पुगिसके । आजको समयमा चार जिल्लाको प्रमुख जिल्ला अधिकारी अर्थात सिडियोको नेतृत्व महिलाहरुको काँधमा छ ।

कर्णाली प्रदेशको जुम्लादेखि पूर्वको तेह्थुम र प्रदेश ३ को सिन्धुपाल्चोक र रामेछाप जस्ता विपन्न जिल्लाहरु प्रमुख जिल्ला अधिकारीका रुपमा महिलाहरुले हाँकीरहेका छन् । एउटा जिल्लाको सम्पूर्ण जिम्मा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी पद कदापि सहज छैन । कामका दौरानमा महिला भएर काम गर्दा विभिन्न बाधाहरु आईपर्ने अनुभव उहाँहरुले भोगीरहनुभएको छ । कतिपय चुनौति चाहीँ महिला भएकै कारण मात्र पनि आइपर्ने अनुभव उहाँहरुको छ । यद्यपि दृढताका साथ अधि बढे जस्तो सुकै चुनौति पन्छाउँदै अघि बढ्न सक्नुपर्छ र सकिन्छ पनि ।

लिलाकुमारी पाण्डे २०७६ बैशाख २ गतेदेखि रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिनुभएको हो । जिल्लामा रहँदा उहाँको मुख्य ध्यान रामेछापमा बसेर शान्ति सुरक्षा कायम गर्ने, जिल्ला प्रशासनबाट दिईने सेवाहरुलाई छिटोछरितो बनाउनेमा छ । जिल्लाभित्र कसैले भ्रष्टचार गरेको थाहा भएमा वा पाइएमा कडा कारवाही सहित जवाफदेही बनाउने प्रजिअ पाण्डेले अभियान नै चलाउनुभएको छ । त्यसैगरी महिलाको मुद्दामा बढी संवेदनशील भएर काम गर्ने उहाँको भनाइ छ । कुनै पनि महिलाले जिम्मेवारी बहनका शिलशिलामा आफ्नो बाटोमा आएका बाधाहरु पन्छाउँदै अघि बढ्न सकेमा महिलाहरु हरेक क्षेत्रमा सफल रहने पाण्डेको विश्वास छ् । ओखलढुंगाकी ४० वर्षिया पाण्डेका परिवार काठमाण्डौंमै छन । उहाँ भने नेपाल सरकारको राष्ट्र सेवक कर्मचारी भएर विभिन्न जिल्लामा पुगिरहनुहुन्छ ।

ललितपुरकी गोमादेवी चेम्जोङ गत वर्षको बैशाखदेखि नै सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छिन् । शान्ति सुरक्षा र शुसासन कायम राख्ने मुद्दालाई आफ्नो उच्च प्राथमिकतामा राख्नुभएकी चेम्जोङ जिल्लाको हरेक सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउने गरी काम गरिरहेको बताउनुहुन्छ । महिलाका मुद्दालाई उहाँले पनि त्यत्तिकै प्राथमिकता प्राथमिकता दिनुभएको छ । महिला बालबालिकाको बेचबिखन धेरै हुने जिल्लामा पर्ने यस सिन्धुपाल्चोक जिल्लामा आफु संवेदनशील भएर काम गरिरहेको बताउनुहुन्छ । छोरीको शिक्षा र स्वास्थ्य राम्रो बनाउने खालका जनचेतनामूलक कार्यक्रमहरु उहाँले प्राथमिकतामा राख्ने गर्नुभएको छ ।

अर्घाखाँचीकी दुर्गा बञ्जाडे २०७५ साल फागुन १७ गतेदेखि जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ । आफुलाई झण्डै ३ महिनाको अवधि जिल्लाबारे राम्रोसँग बुझ्न लागेको उहाँ बताउनुहुन्छ । जिल्लामा शान्ति सुरक्षा, सुशासन र विकास निर्माणका कार्यको अनुगमन, र अर्धन्यायीक कार्य सम्पादनमा उहाँको बढी व्यस्तता रहने गरेको छ ।

प्रजिअ बञ्जाडेकै अग्रसरतामा जुम्लामा सुत्केरीहरुको लागि हेलिप्याडको निर्माण कार्य शुरु भएको छ । महिलाहरुको लागि सरकारले दिएको सेवासुविधा उनीहरुसम्म पु¥याउनुका साथै छाउपडी र बालविवाह विरुद्धको अभियान चलाइरहनुभएको छ । जिल्लाको लिला गाउँपालिकाको वडा नं ५ लाई चाँडै छाउगोठ मुक्त क्षेत्र घोषणा गर्ने बञ्जाडेको तयारी छ । जुम्लामा महिलाहरुले विवाहपछि मात्रै श्रीमानको नामबाट नागरिकता बनाउने प्रावधान रहेको देखेपछि उहाँले १६ वर्ष पुग्ने बित्तिकै नागरिकता दिलाउने अभियानमा पनि सक्रियता बढाउनुभएको छ ।

पूर्वको इलाममा जन्मिएकी लक्ष्मी देवी हुमागाईँले छिमेकी जिल्ला तेह्रथुमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको १० महिना भएको छ । यसअघि उहाँ पुर्वकै अर्को जिल्ला पाँचथरको प्रमुख जिल्ला अधिकारी हुनुुहन्थ्यो । शान्ति सुरक्षा र सुशासनसँगै तेह्रथुम जिल्लामा आफुले विपद्, उद्दार र राहतको कामलाई प्राथमिकतामा राखेको हुमागाईं बताउनुहुन्छ ।

‘महिलाले केही गर्न सक्दैन भन्ने मानसिकता अझै पनि आम मानिसमा रहेको उनको बुझाइ छ । प्रमुख जिल्ला अधिकारी भन्नासाथ पुरुष त्यसमा पनि अलि कडा स्वभाव र जुङा भएको पुरुष मात्रै हुन्छन् भन्ने सोचाई अधिकांश मानिसमा छ । सिडियो साप भन्दै भेट्न आउने कतिपयलाई यहाँ ‘सिडिओ महिला’ हो भनेर पनि भन्नु परेको उहाँको भनाई छ ।