कांग्रेसले बनायो छायाँ सरकार : देउवा प्रधान, बडु गृह, गगन बने शिक्षा मन्त्री
काठमाडौं, ६ जेठ ।
लामो समय सम्म सत्ताको बागडोर सम्हालेको प्रमुख विपक्षी नेपाली कांग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।
संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ । नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो तर, पछिल्लो समय यसले निरन्तरता पाएन ।
विपक्षी दलका नेता शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीको रुपमा बनाइएको छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह र गगन थापा शिक्षा मन्त्रीको भुमिकामा प्रस्तुत गरिएका छन् ।
यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की उर्जा संयोजक भएका छन् । उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्रालस्तरीय समितिको संयोजक तोकिएका छन् ।
छाया सरकारको खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।
यस्तै भूमिसुधार मन्त्रालयमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयमा राधेश्याम अधिकारीलाई छाया मन्त्री तोकिएका छन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य तोकिएको छ । उनीहरुले मन्त्रालयको कामकारबाहीको निरगानी गर्नेछन् ।