फेरी खस्यो त्रिशुलीमा बस, ५ को ज्यान गयो, २५ घाइते

काठमाडौं, ५ जेठ।
लामो समयपछि आज फेरी यात्रुबाहक बस त्रिशुलीमा खसेर भएको दुर्घटनामा ५ को ज्यान गएको छ ।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट ना ७ ख ४३८७ नम्बरको बस आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । भने धेरै भाग बाहिरबाटै देख्न सकिन्छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको उद्धारमा सहभागि एक प्रहरीले जानकारी दिएका छन् ।
मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको प्रहरीको भनाई छ । बसका चालक सम्पर्कमा आएका छैनन् भने साहुको पनि कुनै जानकारी छैन । दुर्घटनाको कारण पनि खुलेको छैन । तर अत्याधिक गतिका कारण र दुर्घटना भएको अनुमान प्रहरीको छ ।

मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।