
भारतमा आज अन्तिम चरणको चुनाब, मतगणना बिहिबारबाट शुरु हुने
काठमाडौं, ५ जेठ ।
दक्षीणी छिमेकी मूलुक भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ बाट शुरु भएको लोकसभा लोकसभा चुनाव आज सकिन लागेको हो । भारतभर लोकसभा चुनाव सात चरणमा गरिएको हो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ ।

आइतबार ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ५९ सिटका लागि ९१८ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताको संख्या भने १०।१७ करोड छ ।
साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् ।
आइतबार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । यसैगरी चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । सत्तारुढ भाजपाले सन् २०१४ मा भएको चुनावमा यी ५९ सिटमध्ये ३० मा जित हासिल गरेको थियो ।
वाराणसीमा पनि आज मतदान भइरहेको छ । जहाँबाट नरेन्द्र मोदी उम्मेदवार बनेका छन् । यसैगरी बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् । उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन् । त्यसैले यी क्षेत्रमा मतदाताको मुख्य चासो छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री सुशील मोदीले पटनाबाट मतदान गरेका छन् । मतदानपछि नितिश कुमारले चुनाव लामो समयसम्म हुनु नहुने बताए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको केदारनाथ र वद्रीनाथको यात्राबारे टिप्पणी गर्दै आस्थामा कहिल्यै राजनीति गर्न नहुने पनि बताए ।
यसैगरी क्रिकेटर हरभजन सिंहले जालन्धरको गढी गाउँबाट मतदान गरे । मतदानपछि उनले भने– मेरा मुद्दा सफाई, बच्चाको पढाई, खेलकुदको राम्रो पूर्वाधार निर्माण हो । कृपया तपाईंहरुले भोट हाल्नुहोस् । यसको गम्भीरतालाई बुझ्नुस् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गोरखपुरबाट मतदान गरेका छन् । मतदानपछि उनले चुनावप्रति पूरै देशभर उत्साह रहेको बताए ।
