४ महिनामा ४ लाख पर्यटक अाए, १५ प्रतिशतले बढ्दैछ पर्यटककाे अागमन

काठमाडौं, ४ जेठ । 

सन् २०१९ को बितेका पहिलो चार महिनामा पर्यटकको आगमन उत्साहजनक देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा भन्दा यस वर्ष १५ प्रतिशत बढीले पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

विभागको तथ्ययांकअनुसार गत चार महिनामा करिब साढे ४ लाख पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म कुल ४ लाख ४५ हजार १०९ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०१८ को पहिलो चार महिनामा जम्मा ३ लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएका थिए । अहिले गत वर्षको भन्दा पर्यटक आगमन संख्या बढेको विभागले जनाएको छ ।

अध्यागमन विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । चार महिनामा कुल ६४ हजार ५७८ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २० दशमलव ६४ प्रतिशतले बढी हो । त्यसपछि सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् ।

अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १९ दशमलव १० प्रतिशले बढेर भारतीय पर्यटकको संख्या ६० हजार ४३८ पुगेको छ । वृद्धिदरको हिसाबले भने सबैभन्दा धेरै ताइपेइबाट नेपालमा पर्यटक आएको देखिन्छ ।

अघिल्लो वर्ष ३ हजार ५७० जना पर्यटक ताइपेइबाट नेपाल आएकोमा ६९ दशमलव ८० प्रतिशतले बढेर यति धेरै भएको छ । विभागका अनुसार सो संख्या बढेर ६ हजार ६२ जना पुगेको छ ।

संख्यात्मक हिसाबले बितेका चार महिनामा संयुक्त राज्य अमेरिकाबाट नेपाल भित्रिने पर्यटक तेस्रो स्थानमा छन् । यसैगरी, ३२ हजार ७४० जना अमेरिकी पर्यटक नेपाल आएको विभागले जनाएको छ । त्यसैगरी, श्रीलंकाबाट २८ हजार १८९ पर्यटक नेपाल भित्रिएका थिए ।

यसैगरी, क्षेत्रीय रूपमा सार्क देशबाट ९७ हजार १६८ र एसियाका बाँकी अन्य मुलुकबाट १ लाख ४० हजार पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी, युरोपबाट ८५ हजार २७ जना पर्यटक नेपाल भित्रिएका थिए ।

ओसियानातर्फ १४ हजार ४ सय पर्यटक नेपाल आएकोमा अमेरिकी देशबाट कुल ३९ हजार ९१० जना पर्यटक नेपाल भित्रिएको सो विभागले जनाएको छ ।

यसअघि सन् २०१८ मा पनि पर्यटक आगमनको संख्या एकदमै उत्साहजनक भएको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका खबर राजधानी दैनिकमा छ ।