प्रधानमन्त्री भियतनाम भ्रमणमा : के के भए सम्झौता ?

काठमाडौँ, वैशाख २९ गते ।
नेपालका प्रधानमन्त्री के पी शर्मा ओली जम्बो टोलीसहित भियतनाम भ्रमणमा रहनुभएको छ । भियतनाम र कम्वोडियामा रहेका नेपालीबीच सामान्य भेटघाटसहितको कार्यक्रम रहेको ओलीको भ्रमणमा नेपाल र भियतनामबीच छिट्टै सिधा हवाई सम्पर्क स्थापना गर्न दुवै देश सहमत भएका छन् ।

प्रधानमन्त्री ओलीको भियतानमको औपचारिक भ्रमणका क्रममा शनिबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख छ । विज्ञप्तिमा दुई देशबीच व्यापार तथा लगानी प्रवद्धन, पर्यटन विकास र जनता जनताबीचसम्पर्क स्थापित गर्न छिट्टै नै सिधा हवाइ सेवा सुरु गर्नुपर्ने अवश्यकतालाई विचार गरी सोको तयारीका लागि दुवै देशका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने सहमति भएको उल्लेख छ ।

साथै भियतनामले नेपालमा धेरै भन्दा धेरै भियतनामी पर्यटक पठाउने र विशेष गरी भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उदगमस्थल लुम्बिनीमा भियतनामी बौद्ध तीर्थयात्री पठाएर नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपाल र भियतनामा विज्ञान प्रविधि, सूचना प्रविधि, बन्दोबस्ती र प्रकोप व्यवस्थापनमा लगायतका सम्भावित क्षेत्रमा सहयोग विस्तार गर्न पनि सहमत भएका छन् ।

संयक्त विज्ञप्तिमा दुवै नेताले दुई देशबीचको द्विपक्षीय आर्थिक र व्यापार सहयोगको क्षेत्र जति सम्भावना थियो त्यो भन्दा निकै तल रहेको अनुभव साटासाट गर्नुका साथै भियतनाम र नेपालका चेम्बर अफ कमर्सबीच सन् २०१८ को अप्रिलमा भएको सहयोग आदाप्रदानसम्बन्धी समझदारीपत्रको स्वागत गरेका छन् ।

त्यसैगरी द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग संयन्त्रको स्थापना गर्ने र विद्युतीय उपकरण, कफी, चिया, सामुद्रिक परिकार, कपडा छालाजुत्ता जस्ता वस्तुका व्यापार प्रवद्र्धन गर्न दुबै देशका बजारको सर्भे गर्ने तथा ऊर्जा, विशेष गरी नवीकरणीय ऊर्जा, उच्चप्रविधि युक्त कृषि तथा पर्यटनका क्षेत्रमा नयाँ सहयोगको खोजी गर्ने र व्यापार प्रवद्र्धनका गतिविधिमा सहभागी हुन सम्बन्धित निकायहरूलाई जिम्मेवारी दिन सहमत भएका छन् ।

नेपाल र भियतनाम दुवै देशले कृषि उत्पादनलाई बजारको पहुँच दिने प्रस्तावमा विचार गर्न सहमत भएका छन् । जसले गर्दा उत्पादनहरू प्रतिपर्धी बन्ने, कृषि विज्ञान र प्राविधिक अनुसन्धानमा सूचनाको अदानप्रदानलाई प्रोत्साहित गर्ने छ ।

नेपालको अति कम विकसित मुलुकबाट चाँडै माथि उठ्न चाहनालाई विचार गर्दै भियतनाले नेपाली उत्पादनलाई भियतनाममा थप निर्यात गर्न दिने कुरामा सहमत हुनुका साथै भियतनामा लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने कुरामा सहमत भएका छन् ।
दुवै देश संस्कृतिक पर्यटन र जनता–जनताबीचको अन्तरक्रियालाई बढाउन सहमत भएका छन् ।
दुवै पक्षले कूटनीतिक राहदानी वहाकलाई भिसा मुक्त गर्ने, दुवै देशका परराष्ट्र मन्त्रालयबीचमा द्विपक्षीय सम्पर्क संयन्त्रको स्थापना गर्ने, ब्यापार र लगानी सहयोगकासम्बन्धी समझदारीमा हस्ताक्षरका लागि छलफल गर्न समझदारी पत्रको आदानप्रदान भएकोमा स्वागत गर्दै यस्ता महत्वपूर्ण समझादरीहरू आगामी दिनम द्विपक्षीय र सम्बन्ध र सहयोग प्रवद्र्धन गर्ने महत्वपूर्ण हुने विश्वास लिएका छन् ।

साथै दुवै देशका नेताले सन् २०१८ को नोभेम्बरबाट काम सुरु गरेका नेपाल–भियतनामा अनुसन्धान केन्द्र अहिलेसम्म गरेको प्रभावकारी कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा हनोईमा भियतनाम नेपाल मैत्री सङ्घ स्थापना कार्यलाई प्राथमिकता दिन सहमत भएका छन् ।
संयुक्त विज्ञप्तिमा दुवै पक्षले आपसी हितसँग सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान धारणा व्यक्त गर्दै दुवैले बहुपक्षीयतावादलाई कामय राख्नुपर्ने र साझा समस्याको साझा समाधान खोज्नुपर्ने आफ्नो प्रतिवद्धतालाई दोहो¥याएका छन् ।

साथै दुवै नेताले न्यायपूर्ण, समातामूलक, समावेशी र विधिमा आधारित र लोकतान्त्रिक विश्व व्यवस्थाका लागि एकसाथ काम गर्नुपर्ने कुरालाई थप जोड दिनु भएको छ । सो अवसरमा भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकले नेपाल सरकारले भियतनामले सन् २०२०–२०२१ का लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदावरी दिने कुरामा नेपालको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको र भियतनामी प्रधानमन्त्री न्युग्यनले त्यसलाई सहर्ष स्वीकार गर्नु भएको उल्लेख छ ।