राेकीएकाे शिक्षक सरूवा खुल्याे

काठमाडौं, २३ बैसाख ।
केही समयदेखि रोक्का भएको शिक्षकको सरुवा शिक्षा मन्त्रालयले खुला गरेको छ ।
स्थायी शिक्षक पदस्थापनाका लागि ११ चैतमा रोक्का गरेको सरुवा आइतबारदेखि फुकुवा गरेको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए ।

आन्तरिकतर्फको पदस्थापन र अवकाशका कारण कतिपय विद्यालयमा शिक्षक व्यवस्थापन गर्न कठिनाइ भएको गुनासो आएपछि सरुवा फुकुवा गरिएको पौडेलको भनाइ छ ।

केन्द्रले आइतबार नै सबै शिक्षा, विकास तथा समन्वय एकाइलाई पत्राचार गरी शिक्षक सरुवा फुकुवा गरेको जानकारी दिएको छ ।

पदस्थापन सकिएपछि रिक्त रहन आएमा, खुला प्रतियोगितात्मक विज्ञापनमा समावेश नभएका पद किटान गरी त्यस्तो परीक्षामा असर नपर्ने र दरबन्दी कटौती नहुने अवस्थामा सरुवा गर्न केन्द्रले निर्देशन दिएको छ ।

संविधान अनससार विद्यालय तहको शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवा केन्द्र सरकारको शिक्षा एकाइको स्वीकृतिमा हुँदै आएको छ ।

सरुवा गर्दा आफ्नो जिल्लाभित्र र अन्तर जिल्लाको समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत शिक्षकलाई सम्बन्धित स्थानीय तहको समन्वयमा प्रचलित ऐन, कानूनअनुसार गर्न सकिने पनि केन्द्रले जनाएको छ ।

शिक्षक सरुवाका लागि सम्बन्धित दुवै विद्यालयको सहमति, स्थानीय तहको सिफारिस र समन्वय एकाइको स्वीकृति आवश्यक पर्छ ।
यस निर्णयले लामो समयदेखि अपायक र विविध कठिनाई झेलेर पनि सरुवा हुन नसकेका स्थायी शिक्षकहरुको समस्या हल हुने विश्वास मन्त्रालयले लिएको छ ।