लमजुङमा साढे ४ हजार सवारी कारबाहीमा, २९ लाख राजस्व संकलन

विमला अधिकारी,
१९ बैशाख, लमजुङ ।

लमजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न खालका ट्राफिक नियम उलंघन गर्ने सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २९ लाख २३ हजार राजश्व संकलन भएको छ । कारबाहीमा परेका ४ हजार ५ सय ५० सवारी साधनबाट यो रकम संकलन भएको हो ।

यो तथ्याङ्क २०७५ को श्रावण देखि चैतसम्म हो । नियमविपरीत सवारी चलाउनेहरुबाट उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, लमजुङका प्रमुख छव बहादुर घर्तीले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालय लमजुङका अनुसार, ट्राफिक नियम उल्लघन गर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । आर्थिक वर्ष २०७५,७६ को साउन देखि चैतसम्म १ हजार ५ सय १७ मोटरसाइकल कारबाहीमा परेका छन् ।

कारवाही परेको मोटरसाइकलबाट १० लाख १९ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै ६ सय ३९ ट्रक, २ सय ६९ बस, १ हजार ४ सय ४४ जिप, कार भ्यान, ६ सय ८१ ट्याक्टर, सवारी साधनले नियम विपरीत सञ्चालन गर्दा कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका सवारी साधन मध्ये जीप कार, भ्यानबाट ९ लाख ४६ हजार, ट्याक्टरबाट ४ लाख ३६ हजार ५ सय, ट्रकबाट ३ लाख ६९ हजार ५ सय, बसबाट १ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख घर्तीले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष ७४, ७५ मा ८ हजार ५ सय ५३ सवारी साधन कारबाहीबाट ५६ लाख ९ हजार ५ सय राजस्व संकलन भएको छ । जसमा ३ हजार २ सय ६५ मोटरसाइकलबाट २२ लाख ९ हजार, २ हजार ३ सय २१ जिप,कार र भ्यानबाट १४ लाख २६ हजार, १ हजार २ सय २७ ट्याकटरबाट ९ लाख २२ हजार ५ सय राजस्व संकलन भएको छ ।

यस्तै १ हजार १ सय ३५ ट्रक कारबाहीबाट ७ लाख ५ सय र ६ सय २३ वष कारबाहीबाट ३ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख घर्तीले बताउनुभयो ।