बालुवाटार जग्गा काण्डमा शेष घले र भवन भट्ट पनि मुछिए

काठमाडौं, १७ वैशाख ।

बालुवाटारको सरकारी जग्गा खरिद काण्डमा नेपाली मूलका अष्ट्रेलियन नागरिक शेष घले र एनअार एन अध्यक्ष भवन भट्ट को पनि संलग्नता भेटिएको छ ।

विश्वको धनी सूचीमा नाम रहेका घलेले बालुवाटारको जग्गा सरकारी हो भन्ने जान्दा जान्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को भवन बनाउन जग्गा खरिद गरेको खुलासा भएको छ ।

सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका तत्कालीन अध्यक्ष घलले जबर्जस्ती खरिद गरेको तथ्य बाहिर आएको छ ।

गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ स्थानीयले सरकारी जग्गा नकिन्न सुझाव दिएका थिए । घलेलाई कागजपत्र पनि देखाइएको थियो । घलेले अटेर गरेरै जग्गा किनेका थिए ।

एनआरएनका पदाधिकारीले वरिष्ठ अधिवक्ता लोकभक्त राणालाई कागजात पनि देखाएका थिए । राणाले जग्गा किन्न सुझाव दिएका थिए ।

एनआरएनका तत्कालीन अध्यक्ष घलेसहित उपाध्यक्ष भवन भट्ट र अर्का गैरआवासीय नेपाली सोनाम लामालगायतको समूहले बालुवाटारको सरकारी जग्गा किनेको स्रोतले जनाएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक एवम् विवादास्पद व्यापारी मीनबहादुर गुरुङ र एनआरएनएका तत्कालीन अध्यक्ष घलेबीचको पारिवारिक सम्बन्धले पनि बालुवाटारको सरकारी जग्गा किन्ने सहमति गरेका थिए ।

घलेले करीब १२ करोड रुपियाँमा बालुवाटारको जग्गा खरिद गरेका थिए । ३ रोपनी एक आना जग्गामा एनआरएनएको भवन बनिसकेको छ ।

विदेशमा पसिना बगाएर गैरआवासीय नेपालीले दिएको चन्दालाई घलेसहितको समूहले दुरुपयोग गरेको पुष्टि भएको छ ।

घलेसहित एनआरएन पदाधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई प्रभावित पारी जग्गा रजिस्ट्रेसनका क्रममा लाग्ने दस्तुरसमेत मन्त्रिपरिषद् बैठकबाट मिनाहा गराएका थिए ।