मधेशकाे सरकार ठीक ढंगले चलेकाे पाइएन – प्रचण्ड

काठमाडौं , १७ बैसाख –

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि आक्रोश पोख्दै निकट भविष्यमा त्यहाँ आफ्नै पार्टीको सरकार बन्ने बताएका छन् ।

प्रदेश २ को सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको र मधेसी जनताको हितमा पनि नभएको भन्दै प्रचण्डले त्यहाँको सरकार फेर्ने चेतावनी दिएका हुन् । प्रचण्डको यो चेतावनीसँगै राजपा–संघीय समाजवादी फोरम र नेकपाबीचको द्वन्द्व पनि थप बढ्ने आशंका गरिएको छ । प्रदेश २ मा राजपा–संघीय समाजवादी फोरमको संयुक्त सरकार रहेको छ ।

ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा बेल्दै प्रचण्डले फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको बताउँदै भने, ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन ।’ उनले प्रदेश २ पनि नेकपाको सरकार बन्नु जरुरी रहेको र त्यसपछि मात्र त्यहाँ जनताको जीवनस्तर सुध्रने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले आक्रोशित भन्दै भने, ‘प्रदेश २ मा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा पनि व्यक्ति व्यक्तिको फोन नम्बर रेड बुकमा छ भन्ने भैले सुनेको छु । यो सुन्दा मलाई धेरै आश्चर्य लागेको छ । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

प्रचण्डले प्रदेश २ मा नेकपाको सरकार बन्ने दाबी गरेपनि त्यो त्यति सहज छैन । नेकपाको सरकार बन्नका लागि सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन आवश्यक पर्छ ।