१३ वर्षिय बालिका हत्या आरोपमा परियार दम्पती पक्राउ
विमला अधिकारी, लमजुङ, १४ बैशाख –
१३ वर्षिय बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका ३ श्रीमज्याङका परियार दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी ३ श्रीमज्याङका ४५ वर्षिय राजकुमार परियार र उनकी श्रीमति जालु परियार रहेकि छन् ।
गत बैशाख ९ गते दिउँसो झुण्डिएको अवस्थामा बालिका फेला परेको भन्ने खवर पाएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरिक्षक राजेन्द्र थापाको टोलीले बालिकाको घटनाको प्रकृति हर्दा शंकास्पद अवस्था देखेपछि आत्महत्या नभई हत्या हुनसक्ने निश्कर्ष सहित आफूहरुले अनुसन्धान अगाडी बढाएको निरिक्षक थापाले बताउनुभयो ।
बैशाख ९ गते घटना घटेको दिन विहानको खाना खाएपछि बालिकाको बुबा ज्याला मजदुरीको काममा गएको आमा बालिकाको किताव किन्न बजार झरेको र घरमा बालिका र उनका बाबाको मामा राजकुमार परियार र माइजु जालु परियार मात्रै रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।
निरिक्षक थापाका अनुसार घरमा एक्लै रहेकी बालिकालाई राजकुमारले आफ्नो श्रीमती आँखा छलि जवरस्ती करणीको प्रयास गरेको र बालिकाले परिवारका अन्य सदस्यलाई बताइदिने डरले दुवै जना श्रीमान् श्रीमती मिलेर घाटी थिची हत्यागरी झुण्डाएर राखिदिएको पुष्टि भएको इलाका प्रहरी कार्यालय भोटेओडार जनाएको छ ।
अनुसन्धानबाट पुष्टि भएपछि विहिबार पिडक परियारलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको हो । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । परियारले आफूबाट गल्ती भएको स्वीकारेका छन् ।

