८४ वर्ष कटेका ३० जेष्ठ नागरिक सम्मानित
विमला अधिकारी, लमजुङ, १४ बैशाख –
दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबोटका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समाज अर्चलबोटले शनिवार एक औपचारिक कार्यक्रमका बीच वडा भित्रका ८४ वर्ष उमेर माथिका ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समाजका सचिव रामप्रसाद पौडेलले बताउनुभयो ।
समाजले दोसल्ला र हर्लिक्स वितरण गरेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सो सम्मान कार्यक्रम दोर्दी गाउँपालिका २ वडा कार्यालयको सहयोगमा भएको हो । सम्मानित भएसँगैै दोर्दी २ सल्लाबोट निवासी ९६ वर्षिय पूर्ण सिंह गुरुङले घरले जा जा बनले आइजा आइजा भन्ने यो उमेर सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँलाई जेष्ठ नागरिक समाज अर्चलबोटका साथै अलैचे केदार प्राविले समेत सम्मान गरेको थियो ।
जेष्ठ नागरिक र श्रष्टा सम्मान एवं कृति विमोचन कार्यक्रममा प्रमुख अतिथी दोर्दी गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङले जेष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै जीवनका विभिन्न उकाली ओराली पार गर्दे असीम ज्ञान, सीप र अनुभवका संगालेका उनीहरुलाई सबैले कदर गर्नुपर्नेमा जोड दिनुभयो ।
जेष्ठ नागरिकको हक, हित संरक्षण र सम्बद्र्धनका साथै जेष्ठ नागरिक मैत्री भवन निर्माणका लागि गाउँपालिका र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जेष्ठ नागरिक एकत्रित हुन सके मात्रै आफ्ना हक अधिकारका पक्ष लड्न सहज हुने भन्दै प्रमुख अतिथी गुरुङले जेष्ठ नागरिक समाज अर्चलबोट अब गाउँपालिका भित्रका सम्पूर्ण जेष्ठ नागरिकलाई समेट्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
समाजका अध्यक्ष ऋषिराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दोर्दी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष गोविन्द अधिकारी, लक्ष्मीनारायण माविका प्रअ ईश्वरी प्रसाद अधिकारी, कार्यपालिकाा सदस्य रमा खड्का, कवि तीर्थराज अधिकारी, साहित्यकार रविकिरण रेग्मी, धुव्र किरण रेग्मी, पूर्ण बहादुर अधिकारी, मदननाथ मरहट्टा लगायतले कार्यक्रममा बोल्दै स्वास्थ्य, शिक्षा, रोजगारको खोजीमा शहर भासिदा गाउँ टुहुरो बनेको दुखेसो पोख्नुभयो ।
जेष्ठनागरिकलाई सम्मान कार्यक्रम राखेर यो संस्थाले निकै उदाहरणीय कार्य गरेको भन्दै यसले घरमा पनि जेष्ठ नागरिक सम्मानित हुने वातावरण बन्नमा टेवा पुग्ने बताउनुभयो । समाजका सचिव रामप्रसाद पौडेलले संञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष मानबहादुर कुवँरले गर्नुु भएको थियो ।
सो अवसरमा रेविकिरण रेग्मीको अलैचे कविता, गीत र अतीतको संग्रह, र धुव्र किरण रेग्मीको अटल संम्झना कृति समेत विमोचन गरिएको थियोे ।