सारेगम च्याम्प्समा आयुस र प्रितमले जिते सबैको मन, कसरी पुगे उनीहरु त्यहाँ ?

काठमाडौं, १४ बैसाख ।
भारतीय टेलिभिजन च्यानल जी टीभीको बाल रियालिटी शो सारेगमप लिटिल च्याम्प्स अन्तर्गत सन् २०१९ को संस्करणमा सहभागि नेपाली बालप्रतिभा आयुष केसी र प्रितम अाचार्यले धेरैको मन जित्न सफल भएका छन् ।

केसीको प्रस्तुति शनिवार र आइतबार प्रसारण हुने छ । यस एपिसोडमा अतिथि जज भएर आएकी नेहा भासिनले आयुषको प्रस्तुतिलाई निकै प्रशंशा गरेको जी टिभीले रिलिज गरेको प्रोमोमा देखाइएको छ। यस कार्यक्रममा आयुष टप १० को लागि भिड्दैछन्।

नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत १२ वर्षीय आयुष सानैबाट संगीतमा रुचि राख्थे ।

उनका बुवा रामकृष्ण केसीका अनुसार उनले संगीत सिक्न थालेको ५ वर्ष भयो।

आयुषलाई हाल सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाइ रहेका छन्।

यस रियालिटी कार्यक्रममा इटहरीका अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि सँगै छन्। उनी त्यहाँको विश्व आदर्श स्कूलमा अध्ययनरत छन्।

यो यात्रामा पुग्नु अघि आयुष केसी र प्रीतम आचार्यले धेरै चरण पार गरेका हुन्। सारेगमपले पहिलो चरणमा सुरशाला म्यूजिक एकेडेमी मार्फत भिडियोबाट अडिसन लिएको थियो। सुरशाला म्यूजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक अमृत क्षेत्रीका अनुसार ३ वटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टू’ को लागि दिल्ली बोलाइएको थियो।

दिल्लीमा अडिसन दिन आयुष र प्रितम सँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए।

त्यसपछि ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुँदै उनीहरू टप ११ मा पर्न सफल भएका हुन्। अहिले दुवै जना टप १० को भिडन्तमा छन्। भारतभरका २०००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू यस चरणमा पुगेका हुन्।