सामुदायिकमा पढे बिद्यार्थीलाई मासिक ५०० भत्ता


लमजुङ, १० बैशाख
सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको संख्या घट्दै गएपछि लमजुङको एक बिद्यालयले बिद्यार्थी आकर्षित गर्न मासिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । लमजुङको दोर्दी गाउँपालिका १ भारते स्थित महादेब आधारभुत बिद्यालयले बिद्यार्थीहरुलाई आकर्षित गरेको हो ।


बर्षेनी बिद्यालयमा बिद्यार्थीको संख्या घट्न थालेपछि अभिभाभावक सहित बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले बिद्यालयमा नयाँ भर्ना हुने बिद्यार्थीलाई जनही मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको बिद्यालयका प्रधानाध्यापक बेदप्रसाद अधिकारीले बताए । ‘हामीले बिद्यार्थीलाई अत्याधुनिक तरिकाले पढाएका छौं, तै पनि बिद्यार्थीहरु आउन छाडे त्यसकारण हामीले यस्तो निर्णय गरेका हौं, प्रधानाध्यापक अधिकारीले भने । उनका अनुसार बिद्यार्थीलाई दिईने सो भत्तालाई दिवाखाजामा प्रयोग गरिनेछ ।
अभिभावक भेलाले बिद्यालयमा कार्यरत शिक्षक, ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको समितिमा रहने प्रत्येक ब्यक्तिले आफ्ना छोराछोरीले सामुदायिकमै पढाउनेपर्ने निमय पनि बनाएको छ ।

यो अभियान शुरु भएपछि बोर्डिङ पढ्न शहर झर्न खोजेका केही बिद्यार्थीहरुले सामुदायिक बिद्यालयमै भर्ना गरेका छन् । गाउँमा बालबालिकाको संख्यानै निकै कम छ, तै पनि गाउँमा भएका सबै बालबालिका सामुदायिकमै भर्ना भएको प्रधानाध्यापक अधिकारीले बताए । उनका अनुसार हालसम्म बिद्यालयमा २६ जर्ना बिद्यार्थी भर्ना भएका छन् ।


भारतेमा रहेका सामुदायिक बिद्यालयमा बिद्यार्थी आकर्षित गर्न दोर्दी १ वडा कार्यालयले बालबालिका लक्षित दिवा खाजा कार्यक्रम शुरु गरेको छ । चालुआर्थिक बर्षबाट शुरु भएको दिवाखाजा कार्यक्रम प्रभावकारी भएपछि आगामी बर्षमा पनि त्यसलाई निरन्तरता दिने वडाको योजना रहेको दोर्दी १ भारतेका वडा सदस्य दीपक अधिकारीले जानकारी दिए ।