श्रीलंका विष्फोटमा मर्नेको संख्या ३ सय १० पुग्यो, ५ सय घाइते, ४० पक्राउ

काठमाडौं, १० वैशाख ।
गत आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा परी श्रीलंकामा मृत्यु हुनेहरुको संख्या ३ सय १० पुगेको छ । घटनामा ५ सय जना घाइते भएका प्रहरीले जनाएको छ । घटना कसले गराएको भन्ने आधिकारीक पुष्टि नभएपनि शंकास्पद ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बढ्दो मृत्यु र त्रासका कारण श्रीलंकामा गत रातीदेखी देशव्यापी संकटकाल घोषणा गरिएको छ भने आज राष्ट्रिय शोक मनाइएको छ ।

आइतबार भएका आक्रमणस्थल मध्येको एक कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिएको छ । अन्त्येष्टिका क्रममा तीन मिनेटसम्म मौनधारण गरिएको थियो।

कसैले पनि जिम्मा नलिएको यस घटनामा सरकारले स्थानीय जेहादी गुट नेशनल तौहिद जमातको संलग्नता रहेको बताएको छ । सरकारी अधिकारीहरुले भने आक्रमण कुनै अन्तर्राष्ट्रिय नेटवर्कको मद्दतमा गराइएको दावी गरेका छन् ।

यसअघि प्रहरीका अनुसार एक चर्चको बाहिर फेला परेको विष्फोटक पदार्थ निष्कृय पार्ने क्रममा विष्फोट भएको थियो । त्यसपछि शहरका बिभिन्न चर्च र होटलहरुमा विष्फोट भएका थिए ।

विष्फोट हुँदैछ भन्ने पूर्व सूचना प्रहरीलाई रहेको भन्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले प्रहरी अधिकारीहरुमाथि अनुसन्धान गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
यसबाट राजनीतिक विवाद पनि बढेको छ । कतिपयले विष्फोटलाई रोक्नका लागि कदम नचालेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलाकाले बीबीसीसँग कुरा गर्दै सरकार चुक्यो कि चुकेन भन्ने कुराको अनुसन्धान हुने अभिव्यक्ति दिएका छन् ।

त्यसअघि श्रीलंका सरकारका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सीले आक्रमणको चेतावनी प्रहरी अधिकारीलाई दिए पनि त्यो सूचना प्रधानमन्त्री विक्रमासिंघेसम्म नपुगेको बताएका थिए । यो घटनापछि सिर्जना भएको वादविवादले श्रीलंकाको राजनीतिमा हंगामा मच्चिएको बीबीसीले लेखेको छ ।

शंकास्पद भनेर पक्राउ परेकाहरु सबै श्रीलंकाका नागरिक हुन् । तर, उनीहरुको परिचय खुलाइएको छैन । उनीहरुसँग सोधपुछ जारी छ । तर, आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा अझै खुलेको छैन ।बीबीसीको सहयोगमा