
अब घटना भएलगत्तै प्रहरी आइपुग्ने : एक चौकीलाई एक मोटरसाइकल
काठमाडौं, १० वैशाख ।
नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।

अपराधको सूचना आएलगत्तै घटनास्थलमा पुग्न सहज होस् भनेर प्रहरीले नयाँ अभियान थालेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अभियानअन्तर्गत पहिलो चरणमा ५ सय वटा मोटरसाइकल वितरण गरिएको बताए ।
उनका अनुसार, थप ३ सय ४० वटा मोटरसाइकल खरिद गरिएको छ । ‘प्रहरीको काम कारबाहीलाई व्यवस्थापनका लागि हामीले मोटरसाइकल खरिद अघि बढाएका हौं’, सुवेदीले भने, ‘अन्य किसिमका १८ वटा सवारी साधन खरिद भएका छन् । ४३ वटाका लागि खरिद सम्झौता भएको छ ।’
सवारी कारगेड मोटरसाइकल पनि ३० वटा खरिदका लागि सम्झौता भएको पनि उनले जानकारी दिए । सुवेदीले हरेक प्रदेशमा पानीको फोहोरा हान्ने गाडीको व्यवस्थापनको कार्य पनि भइरहेको बताए ।
‘योजना अनुरुप ५ वटा खरिद भइसकेको छ भने दुई वटा प्रक्रियामा छन्’, उनले थपे, ‘मानवअधिकारको सम्मान गर्दै भीड नियन्त्रणका लागि फोहोरा प्रयोग गर्न खरिद गरिएको हो ।’
नयाँ स्थापना गरिएका मानव बेचविबखन र साइबर ब्युरोका लागि आवश्यक उपकरणको खरिदको कार्य पनि भइरहेको उनले बताए ।
