श्रीलंकामा ६ ठाउँमा विष्फोट, १ सय ४० वढिको मृत्यु, ४ सय ५० बढी घाइते
काठमाडौं, ८ बैसाख ।
दक्षीण एशीयाली देश श्रीलंकाको राजधानी कोलम्बोमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
तीनवटा गिर्जाघर र तीन ठूला होटल गरी ६ ठाउँमा भएको विस्फोटमा साढे चार सयजनाभन्दा बढी घाइते भएको अस्पताल सूत्रले बताएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरूको पर्व इस्टर मनाइरहँदा ६ ठाउँमा विस्फोट भएको थियो । राजधानी कोलम्बोका तीनवटा गिर्जाघर कोचीकाडे, कटुवापिटीया र बाट्टीकालोवामा विस्फोट भएको थियो ।
त्यसैगरी तीनवटा ठूला होटल सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा साढे चारसय जनाभन्दा बढी घाइते भएको त्यहाँका सुरक्षा अधिकारी र अस्पतालहरूले जनाएका छन् ।
इसाई धर्मावलम्बीहरू अप्रिल महीनामा पूर्णिमापछिको पहिलो आइतबारको दिन इस्टर पर्वमा मनाउँछन् । श्रीलंकामा १० वर्षअघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।
विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । घटनामा कयौं विदेशी नागरिकको मृत्यु भएको समाचारमा जनाइएको छ । विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री रानिल विक्रमसंघेले आपतकालीन बैठक बोलाएको जनाइएको छ ।
घटनापछि सकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।