
अचानक सुकुटे पुगेर के गरे प्रचण्डले ?
काठमाडौं, ६ बैसाख ।
सत्तारूढ नेकपाका अभ्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेर फर्किएका छन् । सपरिवार बिहीबार सुकुटे पुगेका अध्यक्ष प्रचण्ड आरामका लागि सुकुटे पुगेको बताइएको छ।

उनको साथमा पत्नी सिता दाहाल, स्वकिय सचिव तथा छोरी गंगा दाहाल, सचिवालय सदस्यहरुसहित नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका थिए।
बिहीबार सुकुटेबीचमा वास बसेका प्रचण्डले शुक्रबार बिहानै सुकुटेमा मर्निङ वाक गरेका थिए । अत्यन्त जोशीला अवस्थामा देखिएका प्रचण्डले सुकुटेमा राजनीतिक भेटघाट खासै नगरेको सचिवालयले जनाएको छ ।
पार्टी एकताको अत्यन्त पेचिलो अवस्था रहेका बेला प्रचण्ड एकाएक सुकुटे गएपछि राजनीतिक वृत्तमा तरंग आएको थियो । प्रचण्डले पार्टी एकतामा साझ नेतृत्वको रुपमा भुमिका निर्वाह गर्नुपर्ने अपेक्षा रहेको छ ।

उनले सुकुटेमा सुनकोशीमा र्याफ्टीङ गरेका थिए भने स्थानिय कार्यकर्तासँग सामान्य छलफल र अन्तरक्रिया गरेका थिए । प्रचण्डले शान्ति प्रक्रियापछिका धेरै केन्द्रीय बैठकमा पेश गर्ने दस्तावेज लेखनका बेला सुकुटे पुग्ने गरेका थिए ।
आज चितवनमा लगानी सम्मेलनको उद्घाटन गर्न जाने कार्यक्रम रहेकोले आजै काठमाडौं फर्किने र त्यसतर्फ जाने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
