सन्दिपलाई नखेलाउँदा दिल्ली क्यापिटल पराजित

काठमाडौं , ६ बैसाख –

इन्डियन प्रिमियर लिग(आईपीएल)को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले नमिठो हार व्यहोरेको छ ।

अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो । 

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो । 

यस खेलमा पनि सन्दीप लामिछानेलाई मौका दिइएको थिएन । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेलमा मात्रै खेलाएको छ । आइतबार मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिएको थियो । कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई नउतार्नु दिल्लीको कमजोरी बन्यो । मुम्बईविरुद्धको खेलमा दिल्लीले अक्सर पटेल र अमित मिश्रा दुई जना स्पीनरलाई मात्रै टोलीमा समावेश गरेको थियो । दुवै स्पीनरले उत्कृष्ट बलिङ गरे । 

पटेलले ४ ओभर बलिङ गर्दा जम्मा १७ रन दिएर १ विकेट लिए भने मिश्राले पनि ३ ओभरमा १८ रन मात्रै दिएर १ विकेट लिए । सन्दीपको सट्टामा खेलाइएका वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस निकै महंगो सावित भए । पउलले ३ ओभरमा ३७ रन र मोरिसले पनि  ३ ओभरमा  ३९ रन दिए र कुनै विकेट लिन सकेनन्। ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन बनाए पनि पउल शुन्य रनमै रन आउट भए ।

उता मुम्बईले भने दिल्लीको इङिन ध्वस्त बनाउन तीन स्पीनरको प्रयोग गर्‍यो । राहुल चहर, जयन्त यादव,  क्रुनल पाण्डे दिल्लीविरुद्ध हावी भए फास्ट बलर मालिंगा सबैभन्दा महंगो सावित भए । दिल्लीका लागि शिखर धावनले बनाएको ३५ रन नै सबैभन्दा उच्च स्कोर बन्यो । कोलिन मुन्रो र कप्तान श्रेयस अयर ३–३ रनमा आउट हुँदा अर्का विस्फोटक ब्याट्सम्यान रिसब पन्त ७ रन बनाएर पेभिलियन फर्किए । ओपनर पृथ्वी शाले २० रन र अलराउण्डर अक्सर पटेलले २६ रनको योगदान गरे । 

खेलको हारपछि दिल्लीका कप्तान श्रेयस अयरले चेजिङका लागि २० रन बढि भएको प्रतिक्रिया दिए । मुम्बईका कप्तान रोहित शर्माले पनि १४० भन्दा माथिको स्कोर यस मैदानमा राम्रो स्कोर रहेको भने । 

यस खेलमा लेग स्पीनर सन्दीप लामिछानेलाई नउतार्नु दिल्लीको दुर्भाग्य बन्यो । अहिलेसम्म खेलेका आईपीएलका सातै खेलमा विकेट लिएका सन्दीपलाई टोलीमा समावेश गरेको खण्डमा अक्सर वा अमित कै औसतमा बलिङ गरेको भए पनि मुम्बईको स्कोर कम्तिमा २० रन कम हुन सक्थ्यो । अन्तिम ३ ओभरमा मात्रै दिल्लीका बलरले ५० रन दिए ।  किमो पउलले १८ औं ओभरमा १७, क्रिस मोरिसले १९ औं ओभरमा १५ र राबाडाले २० औं ओभरमा १८ रन दिए । 

 सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको मुम्बईको थप एक वा दुई विकेट मात्रै लिन सकेको खण्डमा पनि स्कोर कम बन्न सक्थ्यो । दबाबमा ब्याटिङ गरिरहेको मुम्बईका ब्याट्सम्यानमाथि सन्दीप लामिछाने हावी हुने सम्भावना धेरै नै थियो । दिल्लीका समर्थकहरुले कोट्ला मैदानमा स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश नगर्नु मुर्खता भएको भनि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । दिल्लीले शनिबार कोट्ला मैदानमै पञ्जाबको सामाना गर्दैछ । यसमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना धेरै देखिन्छ । 

हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइको १२ र दिल्लीको १० अंक छ । अन्नपूर्ण पाेष्टमा समाचार प्रकाशीत छ ।