
दराैदि नदी नै फर्काएर दाेहन : दाेषी काे ?
गाेरखा, ६ बैसाख-
दरौंदी नदीमा जिल्ला समन्वय समितिकै निर्देशनमा मापदण्ड मिचेर उत्खनन भइरहेको छ । क्रसर सञ्चालकहरूले खोलाको धार फर्काएर जेसीबीमार्फत ढुंगागिट्टी संकलन गरिरहेका छन् ।

क्रसर सञ्चालक र निर्माण व्यवसायीको दबाबमा जिससले चुमनुब्री गाउँपालिकाबाहेक १० स्थानीय तहलाई चैत २५ मा मेसिनमार्फत नै उत्खनन गर्न दिन पत्र पठाएको थियो । आईई प्रतिवेदनमा खोलाको धार परिवर्तन गर्न र मेसिनमार्फत उत्खनन गर्न नपाइने उल्लेख छ ।
‘खोला फर्काउने त सामान्य भयो, हामी लोकलले एउटा ढुंगा घर लान्छु भन्दा पनि पाइन छाड्यो,’ सिरानचोक–४ चोरकाटेका धनबहादुर कुमालले भने, ‘बिहान ६ देखि राति ९ बजेसम्मै जेसीबी र टिपर यत्तिकै हुन्, मनलाग्दी उत्खननले खेतमा पानी लाग्न छाडेको छ ।’
सोमबार मात्र ३० भन्दा बढी जेसीबी र सयवटा टिपर दरौंदीमा थिए । ‘हामी साना मान्छेको कुरा कसैले सुन्दैन, बल्ल–बल्ल बाँध बाँधेर खेतमा पानी लग्यो, खोला खोतलेर अर्को वर्ष उस्तै हुन्छ,’ सुशीला कुमालले भनिन्, ‘पोहोर पनि पानी नपाएर धान राम्रो फलेन ।’
पालुङटार नगरपालिका–१ खोप्लाङ, गोरखा नगरपालिका–१० छेवेटार र सिरानचोक गाउँपालिका–४ छोप्राक क्षेत्रमा आठ दिनयता उत्खनन तीव्र रहेको स्थानीयले बताए । नियमनकारी निकायकै संरक्षणमा अवैध उत्खननले प्रश्रय पाएको भन्दै उनीहरू आक्रोशित छन् ।
स्थानीय तहका जनप्रतिनिधिले नै आईई प्रतिवेदन बेवास्ता गर्दै मेसिनमार्फत नदीजन्य पदार्थ उत्खननका लागि दबाब दिँदै आएका थिए । मेसिन प्रयोगमा कडाइ गरिएपछि उनीहरूले प्रतिवेदन परिवर्तनसम्मकै प्रयास गरेका थिए । ‘स्थानीय तह आफैंले बनाएको आईईमा उल्लिखित हाते औजारको साटो मेसिन पनि प्रयोग गर्न पाउने गरी प्रतिवेदन बनाउन छलफल चलाएका थिए, पछि आफैं ब्याक भए,’ स्रोतले भन्यो । अाजकाे कान्तिपुरमा दैनिकमा खबर छ ।
