
देउवाको दावी– नागरिकको मर्मअनुसार काम गर्ने पार्टी काँग्रेस मात्रै
काठमाडौं, ५ बैसाख ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी काँग्रेस मात्रै भएकाे दावी गरेका छन् । दुई तिहाइको कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसकेको उनकाे तर्क छ ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कैलालीको धनगढीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले भने, ‘दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्कको उपहार पाएका छन् । कम्युनिष्ट पार्टीका नेताहरु झुटा आश्वासन दिएर मात्रै भोट माग्छन् । नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी काँग्रेस मात्रै हो ।’
यस्तै, उनले प्रेस स्वतन्त्रता हनन् गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको आरोप लगाए । ‘सरकारले पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप गरिरहेको छ । पत्रकार सरकारको शत्रु होइन । सहयोगी हो,’ सभापति देउवाले भने,‘सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको छ । अब पत्रकार साथीहरु पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको छ ।’
पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भएको भन्दै प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उनले बताए ।
