मेलम्चीको समस्या छिटै समाधान हुन्छ : मन्त्री मगर
काठमाडौं, ५ बैसाख ।
मेलम्चीको काम चार महिनादेखि रोकीएर अन्यौलता सिर्जना भइरहेका बेला खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छिन् । मेलम्ची आफ्नो र सरकारको सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको भनाई थियो ।
बिहीबार काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले भनिन्, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’ जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उनले बताइन् ।
मन्त्री मगरले काठमाण्डौ उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई कडा निर्देशन दिइन् । मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई उनले सचेत गराइन् ।
मन्त्री मगरले काठमाण्डौ उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भएरनभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने आवश्यक्तामा जोड दिइन् ।
कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए । उनले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्ने तर्क गरे ।
सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत नागरिकले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए ।